जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १६:५२

‘फेक’ फोटो पोस्ट गर्दै प्रचण्डको कान्छी छोरीले लेखिन्- टीयू ग्राउन्डमा फ्लड लाइट जडान भयो


काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहालले फेसबुकमा फेक तस्बिर पोष्ट गर्नुभएको छ । उहाँले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै इडिट फोटो राखेर सबैमा भ्रम छर्नुभएको हो । टीयू ग्राउन्डमा चारवटा फ्लडलाइट जडित गरिएको फोटो राख्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’

उहाँले उक्त कुरालाई फेरि इडिट गरेर त्यो पोष्ट डिलिट गर्दै अर्को पोष्टमा लेख्नुभएको छ,‘सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ । द्रुत गतिमा सम्पन्न भए पश्चात् रंगशाला यो आकारमा देखिनेछ।’ उक्त पहिलाको पोष्टमा कमेन्ट सेक्सनमा केही व्यक्तिले यो फोटो एडिटेड हुनसक्ने बताएपछि गंगाले आफ्नो पोस्ट डिलिट गरेर अर्को इडिट गरेर पुनः पोष्ट गर्नुभएको हो ।

यता नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले त्रिवि मैदानमा फ्लड लाइट जडान नभएको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि त्रिवि मैदानमा पुगेर नेपाल र यूएईबीचको खेल हेरेपछि फ्लडलाइट राख्न निर्देशन दिनुभएको थियो तर, उक्त निर्देशन कार्यान्वयनमा कुनै काम अघि बढेको भने अझै छैन । क्यानले फ्लडलाइट जडान गर्नका लागि नेपाल खेलकुद परिषद्मा प्रस्ताव पठाएको तर, फाइल नै अघि नबढेको म्यानेजर दासले बताउनुभयो ।