जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १३:३९

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान (चिकित्सकको विज्ञप्तीसहित)


काठमाडौं, भदौ ५

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । थाई एयरको नियमित उडानबाट उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी समेत गराउनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेता तथा कार्यकर्ताले विदाई गर्नुभयो । गत साउन १८ देखि २८ गतेसम्म स्वास्थ्य परीक्षण गराउनु भएका प्रधानमन्त्री ओलीलाई सोही बेला चिकित्सकले पुनः एक पटक परीक्षण गर्नुपर्ने सुझाएका थिए ।

चिकित्सकको सोही सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिङ्गापुर प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्केपछि महत्वपुर्ण निर्णय लिनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार यसपटकको सिंगापुर बसाई डेढ साता हुने अनुमान छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी छ । आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्ने जानकारी चिकित्सकले दिएका छन । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्षभन्दा बढी भएको छ ।

चिकित्सकहरुका अनुसार मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ । अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ । प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ । अहिले प्रधानमन्त्री ओलीको पनि त्यही भएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्ले बताउनु हुन्छ ।

काफ्लेका अनुसार एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ । एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन । तर, मिर्गौलामा सुधार भएरनभएको दुई सातामै स्पष्ट हुन्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ । डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ । नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् । दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतया पर्याप्त हुन्छ ।