जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १६:०६

गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं, १३ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताउनुभएको छ । श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

आज मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र) ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताउनुभएको हो ।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताउनुभयो । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उहाँको भनाइ छ । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उहाँले जानकारी दिनुभयो ।