जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १७:३८

सर्भर प्रणाली कमजोर हुँदा कैलालीमा राहदानी फारम भर्न सकस


धनगढी, १३ चैत । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी बनाउने नागरिको संख्या बढे पनि प्रशासनले भने प्राविधिक कर्मचारी अभावको कारण देखाउँदै सीमित नागरिकको मात्रै राहदानी फारम भर्न सक्ने व्यवस्था गरेको सेवाग्राहीको गुनासो छ । सीमित मानिसको मात्रै राहदानी फारम स्वीकृत हुने अवस्थाले दिनभरी लाइनमा बसेर बेलुका निरास भएर घर फर्कनुपर्ने समस्या रहेको नागरिकको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भने सर्भरको समस्या र राहदानीका क्यामेरासहितको कम्प्युटर एक थानमात्रै उपलब्ध हुँदा समस्या भएको जनाएको छ । ‘क्यामेरासहितको कम्प्युटर प्रशासनमा एउटा मात्रै रहेको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले भन्नुभयो,‘जसका कारण एक दिनमा धेरै मानिसको राहदानी फारम भर्न सकिएको छैन, अर्को क्यामेराको पनि व्यवस्था हुन सके र परराष्ट्र मन्त्रालयले सर्भरको क्षमता बढाइदिएको खण्डमा यो समस्या समाधान हुन सक्दथ्यो ।’

सुवाग्राहीले भने विभिन्न बाहनामा नागरिकलाई दुःख दिने काम भइरहेको बताएका छन् । ‘म चुरेबाटा तीन दिनदेखि लगातार जिल्ला प्रशासन कार्यालय धाइरहेको छु,’ चुरे गाउँपालिका–५ का विमल धामीले भन्नुभयो, ‘तर सधैँ पालो नपुगेर फर्किनुपरेको छ। प्रशासन गम्भीर नहुँदा टाढाबाट आउने मजस्ता धेरै नागरिकले दुःख पाइरहेका छन् ।’

राहदानी बनाउन काठमाण्डौं जाँदा धेरै खर्च हुन्छ भनेर जिल्ला प्रशासनमा आएको बताउँदै उनले प्रशासनमा दैनिक धाउनु पर्दा झनै खर्च बढेको बताउनुभयो । ‘स्वदेशमा रोजगारी नपाइने अवस्था भएपछि वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि राहदानी बनाउने सोच बनाएको हुँ,’ धामीले भन्नुभयो, ‘तर राहदानी बनाउनै समय बित्न थालेको छ । प्रशासनिक काम नै छिटो छरितो नहुँदा निरासा बढेको छ ।’

चुरकै मंगल तामाङले प्रणाली सुधार गरेर जनतालाई छिटोछरितो सेवा दिनुपर्ने बताउनुभयो । ‘बिहानदेखि लाइनमा बसेका सेवाग्राही बेलुका पालो नपाएर घर फर्कने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘बाध्यताले विदेशिने युवालाई सरकारले समयमा राहदानीसमेत दिन नसक्नु विडम्बनाको कुरा हो, यसलाई सुधार गर्नु आवश्यक छ ।’ धनगढी आसपासका नागरिकलाई एक दिन राहदानीको फारम स्वीकृत नहुँदा कुनै समस्या नहुने भए पनि टाढाबाट आउने सेवाग्राहीलाई दैनिक प्रशासन धाइरहन समस्या हुने गरेको उहाँले बताउनुभयो ।

‘चुरेबाट धनगढी आउन कम्तिमा दुई हजार दैनिक खर्च हुन्छ,’ उहाँले भन्नुभयो,‘त्यसैमाथि एक दिनमा काम नभएको अवस्थामा धनगढीमै बस्नुपर्ने अवस्था भएमा ५–६ हजार खर्च भइहाल्छ, विपन्न वर्गलाई त्यत्रो पैसा जुटाउन मुस्किल हुने गर्दछ । नागरिकका समस्या बुझेर प्रशासनले पनि छिटोछरितो सेवा दिन पहल गर्नु जरुरी छ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने सर्भरको समस्या र एउटा मात्रै कम्प्युटरमा क्यामरा हुँदा समस्या भएको बताउनुभएको छ ।

आफू जिल्लामा आउन अघि दैनिक १५–२० जनाको मात्रै राहदानी फारम स्वीकृत हुने अवस्था रहेकोमा अहिले दैनिक ८० जना सम्मको फारम भर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । ‘दुईजना फोटो खिच्ने जनशक्ति थप गरेर नागरिकलाई बढीभन्दा बढी सेवा दिने गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भन्नुभयो, ‘तर परराष्टको सर्भर खुल्न नै समय लाग्ने गर्दछ, जसकारण हामीले चाहेर पनि धेरैलाई सेवा प्रदान गर्न सकिरहेका छैनौं ।’ प्रशासनमा क्यामरासहितको कम्प्युटर सेट पनि एउटा मात्रै रहेको उहाँले बताउनुभयो ।

एउटा कम्प्युटरबाट सेवा दिदा दैनिक ७०–८० जना भन्दा बढी सेवा ग्राहीलाई सेवा दिन नसकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताउनुभयो । यदी परराष्ट्र मन्त्रालयले सर्भरको क्षमता बढाउने हो र क्यामेरासहितको कम्प्युटरको थप व्यवस्था गरेको अवस्थामा यो समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी कटेलले बताउनुभयो । ‘त्यसका लागि सर्भरको क्षमता बढाइनु अपरिहार्य छ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भन्नुभयो, ‘क्यामरासहितको कम्प्युटर पनि थप्नु पर्दछ, त्यसो गर्नसके प्रशासनमा राहदानी फारम भर्न आउने सबै नागरिकलाई सहजै सेवा दिन सकिन्छ ।’