जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १९:२६

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू


काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीनजना युवक धरौटी बुझाएर रिहा भएका छन् । ७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, आज धरौटी बुझाएर  रिहा भएका छन् ।

डिल्ली बजार कारागारमा जेल चलान भएका तीन जना आज रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । उनीहरूलाई पक्राउ गरीएको बिषयमा सडकदेखि संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको थियो । उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो ।