जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार ०६:३१

भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी


काभ्रे १५ चैत । प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।

नौ जना विद्यार्थीको समूहमा रहनुभएका चैतन्य माध्यमिक विद्यालय बनेपाका विद्यार्थी सङ्गीता मैनाली भने विज्ञानको विद्यार्थी नभएर व्यवस्थापनको विद्यार्थी हुनुुहुन्छ । अध्ययन र अनुसन्धान गर्न इच्छाशक्ति नै मुख्य कुरा रहेको प्रमाणित मैनालीले गरिरहनुभएको छ ।

उहाँको लगाव र खोजी गर्न सक्ने क्षमता देखेर उहाँहरूको कार्यको नेतृत्व गरिरहनुभएका अन्तरिक्ष प्रतिष्ठानका आभास मास्केले प्रशंसा गर्नुभएको छ । सो कार्यमा छ जना इन्जिनियरले समेत काम गरिरहेका छन् । त्यसको नेतृत्व जनार्दन सिलवालले गर्नुभएको छ । मुनालको निर्माण कार्यले जीवनमा धेरै कुरा सिक्ने मौका पाएकोमा विद्यार्थी खुसी छन् तर समय मिलाउन भने उनीहरूका लागि निकै चुनौतीपूर्ण छ ।

नियमित अध्ययनबाहेक नै घण्टौँ समय मुनाल निर्माणमा दिएका विद्यार्थीले १६ महिनाको लामो मेहनतपछि तेस्रो चरण पूरा गरेपछि मङ्गलबार खुसी साटासाटसमेत गरेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीले पाएको अवसरलाई सही रूपमा प्रयोग गर्दै आफूलाई अब्बल रहेको प्रमाणित यो परियोजनाले गराउँदै छ । भूउपग्रहको पहिलो, दोस्रो र तेस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ । अब तोकिएकै समयमा प्रक्षेपणको तयारी मुनालले गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ–प्रतिष्ठान ९नास्ट० र अन्तरिक्ष प्रतिष्ठानले निर्माण गरेको मुनालको तेस्रो चरण पूरा गरेर भारतको अनन्त टेक्नोलोजीमा लगेर स्पेस इन्भारोमेन्ट टेस्ट गराएसँगै प्रक्षेपणका लागि योग्य ठहरिएको छ । भूउपग्रहलाई बेस्सरी हल्लाउने भ्याकुममा राखेर बेस्सरी तातो र चिसो बनाउने परीक्षण पूरा भएका छन् । मास्केका अनुसार यी दुवै परीक्षणलाई ‘स्पेस इन्भारोमेन्ट टेस्ट’ भन्ने गरिन्छ ।

सबै परीक्षण पूरा भएपछि मङ्गलबार भूउपग्रहको तन्दुरुस्ती जाँच्न जापान, थाइल्यान्ड, स्विट्जरल्यान्ड र श्रीलङ्काबाट आएका विज्ञसमूहले मुनाल राम्रो रहेको बताउनुभयो । विगतमा भूउपग्रहको प्रयोगमा आएका कमजोरी मुनालमा नदेखियून् भन्दै केही सुझावसमेत उहाँहरूले दिनुभएको थियो । विज्ञबाट आएको सुझावले मुनाललाई थप मजबुत बनाउन सहयोग पुग्ने र त्यसबाट हौसला मिलेको एलिना सापकोटाले बताउनुभयो ।

भूउपग्रहको आकार १० घनसेमिको रहने र एक केजीसम्मको तौल रहनेछ। मुनाल स्याटेलाइटमा क्यामरा मिसन, प्यासिभ अल्टिच्युड डिटरमिनेसन एन्ड कन्ट्रोल ९पीएडीसीएस० मिसन रहनेछ। त्यस्तै कम्युनिकेसन पेलोड टेस्ट मिसन, रेडिएसन मेजरमेन्ट मिसन र आर्ट मिसन रहनेछ। यो स्याटेलाइट अन्तरिक्षमा पु(याउनसम्म दुई करोड रुपियाँ खर्च लाग्ने अनुमान छ। यसलाई २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्यअनुसार तेस्रो चरणको काम सम्पन्न भएसँग प्रक्षेपणको समय कुरेर बसेको छ।

काठमाडौँ विश्वविद्यालय हाइस्कुलका प्रधानाध्यापक तेजेन्द्र राजभण्डारीले भूउपग्रहको निर्माण आफ्नो विद्यालयमा हुनु गौरवको विषय रहेको बताउँदै यसमा काभ्रेपलाञ्चोकका विद्यार्थीका लागि धेरै सम्भावनाको आधारलाई खोलेको दाबी गर्नुभयो। गोरखापत्रमा समाचार छ ।