जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १७:३८

आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन मिल्दैन : ओली


काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्तिप्रक्रिया टुंगिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दण्डहिनताको अन्त्य जस्ता कुराहरुलाई आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौं । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालिन न्याय, संक्रमणकालिन अन्याय होइन। संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वइच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’ मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट कसैलाई नभएको पनि सुनाउनुभयो ।

उहाँले थप्नुभयो, ‘पीडितका आशु, मर्म र घाइते अपांगका पीडाहरुलाई हेरेर तीनिहरुको समस्या सम्बोधन गर्नेगरी समस्याको समाधान हुनुपर्छ । आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रियाको नाममा वा संक्रमणकालिन न्याय अन्त्य कसरी गर्ने भन्ने कुरा पनि हेर्नुपर्छ ।’

उहाँले अहिले बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै गन्तव्य नै नभएकाले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘कृत्रिम खालका विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक तरिकाले सरकार बनेको छ । १० दलभित्र विचार नीति, कार्यक्रम, सिद्धान्त, गन्तव्य केही पनि मिल्दैन । सरकारको एउटा गन्तव्य हुनुपर्छ, त्यो केही छैन ।’