जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार ०७:३४

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि सीमा नाकामा निगरानी


काठमाडौं, १७ चैत्र । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको उहाँले बताउनुभयो । यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण भइरहेको जोशीले बताउनुभयो । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

नयाँ वर्ष वैशाख १ गते नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किन थालेका छन् । सङ्क्रमणको जोखिम रहेकाले उनीहरुको स्वास्थ परीक्षण हुन थालेको हो । जोखिम बढेपछि सीमा नाकाबाट फर्कनेलाई परीक्षणसँगै मास्क अनिवार्य लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञले आग्रह गर्दै आएका छन् ।