जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार ०८:००

मन्त्री बन्नेको नाम टुंगो लागिसकेको छैन– उपसभापति पूर्णबहादुर खड्का


काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नामावली अझै टुंगो लागिनसकेको बताउनुभएको छ । कतिपयले सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खड्काले गएराति सामाजिक सन्जालमार्फत् नै नामावली टुंगो नलागेको बताउनुभएको हो ।

पार्टी सभापतिले हस्ताक्षर गरेर नामावली प्रधानमन्त्रीलाई नबुझाएसम्म कुनै पनि बेला निर्णय परिवर्तन हुनसक्ने खड्काको भनाइ छ । उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ , ‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुङ्गो लागिसकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापतिज्युको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्युकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्र्ने तयारी गर्दै हुनुहुन्छ । अपराह्न तीन बजे नयाँ मन्त्रीको शपथ ग्रहण हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सरकारमा नेपाली कांग्रेसको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा छ ।