जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १९:३८

प्रविधिमा ओली सरकारको नयाँ फडको : अव प्रधानमन्त्रीको भिडियो उपस्थितिमा मन्त्रिपरिषद बैठक


काठमाडौं, भदौं ५ । सरकारले प्रधानमन्त्रीको भिडियो उपस्थितिमा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने निर्णय गरेको छ । स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अव प्रधानमन्त्रीको भिडियोबाट हुने उपस्थितिमा पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने बताउनु भयो । ‘अब प्रधानमन्त्री अनुपस्थित रहेका बेला भिडियोबाटै मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुहुनेछ, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसको बाटो खोलेको छ,’ प्रवक्ता बाँस्कोटाले भन्नुभयो ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली केही समय सिंगापुरमै बस्नुपर्ने अवस्था रहेमा भिडियोमार्फत मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनुहुनेछ । यही प्रयोजनका लागि मन्त्रिपरिषद बैठकले बाटो खोलेको हो ।
सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको छ ।