जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १३:०८

दाइजो प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन


सिरहा, १७ चैत । मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा कमि आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ ।

बढ्दो दाइजो र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको छ ।

नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ । ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ । त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहोर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो । जसलाई नाटकले प्रस्ट पारेको छ । विशेषगरी मधेसी समाजमा भनेजति दाइजो नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ।

सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजोप्रथा, छोरी जन्माएको कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ । समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजोप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रुपमा रहेको छुवाछुत प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ ।

आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साहसहित दर्जनबढी कलाकारको सहभागिता छ ।

नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ । त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ ।