जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १३:४७

माल्टा पठाउने नाममा ठगी


खोटाङ, १७ चैत । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिनुभएको छ । माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् ।

माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताउनुभयो । माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा दुई लाख १० हजार जम्मा गरिदिनुभएको थियो । विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटक–पटक भाका राख्दै ढाँट्ने गर्नुभएको छ ।

भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्नेगरी २०७९ साउन २४ गते माछापुछ्रे बैंकको दुई लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पिडित परिवारले बताउनुभएको छ । फोन गर्दा भाका राखेको राख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताउनुभयो ।

‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भन्नुभयो, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न । फोन गर्दा भाका राखेको राख्यैगर्छ । कति ढाँटेढाँटे भनिसाध्य छैन ।’ पैसा फिर्ताका लागि कानुनी प्रकृया अपनाउने तयारी गरिएको पिडित परिवारले बताएका छन् ।