जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १४:५३

माओवादी विचौलियामा रुपान्तरण : विष्णु रिजाल


काठमाडौं, १७ चैत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनुभएको छ । जुम्लाको खलंगामा आज विहान आयोजित पत्रकार सम्मेलनमा नेता रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वाकांक्षा बढिरहेको छ । यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको छ । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो ।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना–महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनुपर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ ।’

सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको बताउनुभयो । ‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा छ’, उहाँले थप्नुभयो, ‘अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुनेछ ।’

कांग्रेसको भविष्य नदेखेर नेता–कार्यकर्ताले पार्टी छाडिरहेको प्रसंग उल्लेख गर्दै उहाँले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर पार्टी छाड्नुले भोलि उनीहरू स्वयमले पार्टी छाड्नका लागि आधार बनाएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । नेकपा (एमाले), जुम्लाका अध्यक्ष शान्तिलाल महतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा मिसन ग्रासरुट अभियानका बारेमा जानकारी दिइएको थियो ।