जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार २०:४४

नेपालले चुम्यो थ्री नेसन्स कपको उपाधि


काठमाडौं, चैत १७ । मनीष डाँगीको निर्णायक गोलसँगै नेपालले फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। सुरुआतमै १-० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १७औं मिनेटमा लाओसका विङ्गर साङ्भिलेले गोल गर्दै भ्रमणकारी टिमलाई अग्रता दिलाएका थिए। पछिल्लो खेलमा भुटानविरुद्ध दुई गोल गरेका बोनपाचाङ बोङ्कोङले दिएको पेनाल्टी एरिया अगाडिबाट दिएको पास नेपाली मिडफिल्डर मणिकुमार लामालाई लागेर ६ यार्ड बक्स अगाडि पुगेको थियो। बायाँतर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरेका साङ्भिलले उत्कृष्ट फिनिसिङ गरे।

तर, त्यसको सात मिनेट नबित्दै आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए। एरिक विष्टले १८ यार्ड बक्स अगाडिबाट दिएको पास पेनाल्टी बक्समा नियन्त्रणमा लिएर उत्कृष्ट फिनिसिङ गरे।

निर्धारित ९० मिनेटको खेलसकिन तीन मिनेट बाँकी रहँदा मनीष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। अञ्जनले पेनाल्टी एरियाबाट दिएको पासलाई पेनाल्टी एरियाको कुनामा नियन्त्रणमा लिएका मनीषले गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भएको थियो।

पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। लाओस पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

उपाधिसँगै विजेता नेपालले पाँच तथा उपविजेता लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरेका छन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाएको छ ।