जनता टाइम्स

२० चैत्र २०७९, सोमबार १६:४१

मिटरव्याजपीडितको एउटा समूह गयो, अर्कोको माइतीघरमा प्रदर्शन सुरू


काठमाडौं, २० चैत । मिटरव्याजपीडितको एउटा समूह घर फर्किएपनि फेरि अर्को खेमा आन्दोलनका लागि काठमाडौं आएको छ । विभिन्न जिल्लाबाट आएका मिटरव्याजपीडितको अर्को टोलीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् ।

यसअघि शनिबार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरू गरेको हो ।

आज काठमाडौंमा आएका मिटिरव्याजी पीडितहरूले मिटरव्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । मिटरव्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको व्यानरमा पीडितहरूले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि–लिलामी बन्द गर, मिटरव्याजीलाई कारबाही गर, झुटा आश्वाशन बन्द गर, उत्पिडित किसान एक हौं जस्ता नारा लगाएका छन् ।