हेटौंडा, २० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउनु गलत भएको बताउनुभएको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्दर्भमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुग्नुभएको शर्माले लामिछानेको प्रवृत्तिको आलोचना गर्नुभएको हो ।
चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले भन्नुभयो,‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ ।’
रवितर्फ संकेत गर्दै शर्माले थप्नुभयो,‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’ शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ । तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ ।’ लोकतन्त्रमा जनता केन्द्रित भएर काम हुनुपर्छ । तर, लोकतन्त्रमा भएको कमी–कमजोरी देखाउने मात्र एजेन्डा हुन सक्दैन भन्दै शर्माले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताउनुभयो ।
गठवन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको जितनारायणले चितवनको सबै खाले विषय बुझेको र उहाँले जिते समग्र चितवनको मुहार फेरिने शर्माले बताउनुभयो । प्रचण्डलाई नो नट अगेन भन्नेले उहाँकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताउँदै शर्माले चितवन–२ का जनताले अब आवेगमा निर्णय नगर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्