कतार, २१ चैत । प्रवासी नेपाली मञ्च कतारको राष्ट्रिय कमिटीले रमदान महिनामा रोजा राख्ने इस्लाम धर्मावलम्बी साथीहरूलगायत कतारमा रहेका नेपाली समाजका प्रतिनिधीहरू गर्दै बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारको अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी उप–सचिव चानक पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा रमदान के हो भन्ने विषयमा मुस्लिम धर्मावलम्बी गुरुद्वारा प्रकाश पारिएको थियो भने सामाजिक अभियान्ता रमजान मियाले कार्यक्रममा दुवा पढ्नुभएको थियो ।
कार्यक्रममा पोखरेलले सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै मञ्चको वार्षिक क्यालेण्डरको कार्यक्रम भएको तथा यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता बढाइ समाजमा भाइचाराको सम्बन्ध स्थापना गराउने बताउनुभयो । उहाँले यस्ताखालका कार्य गर्नको निमित्त मञ्चले आफ्नो स्थापाना कालदेखि नै अग्रणी भूमिका निभाउँदै आएको समेत प्रष्ट्याउनुभयो । विशेष गरी प्रवासी नेपाली मञ्चले दोहा कतारको नेपाली समाजलाई एउटै सामाजिक सुत्रमा एकत्व गर्नको निमित्त, धार्मिक सहिष्णुता युक्त समाज निर्माण गर्नको निमित्त, भाइचाराको सम्बन्ध निर्माण गर्दै समाज रूपान्तरणमा सदैव अग्रणी भूमिका निभाउँदै आएको पनि जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,‘इस्लाम धर्मावलम्बीहरूको रमदान, इद उल फित्र, इद अल आदालगायत अन्य आस्थावानहरूका पर्वहरू जस्तै दशैं, तिहार, छैठ, होलीमा हामी बिच शुभकामना आदान–प्रदान गर्ने कार्यहरू सधैं हुने गरेको छ, यो हामी सबैको सामाजिक कर्तव्य हो ।’ यस्तो कर्तव्य कर्म गर्नुपर्छ भनेर समाजमा सिकाउने सबै भन्दा पहिले नेपाली संस्था प्रवासी नेपाली मञ्च कतार नै हो भन्दै प्रमुख अतिथि पोखरेलले विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरू तथा गैर मुश्लिमहरूमा पवित्र महिना रमादानको उपलक्षमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा त्रिपाठीले यस कार्यक्रम पृथक तरिकाले संचालन गरेको हुँदा यसमा मन्तव्य तथा भाषणको न्यूनिकरण गरिएको बताउंदै सबैलाई रमदानको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रमा उपस्थित सम्पूर्णलाई मञ्चका उपाध्यक्ष अफसर अलि खानले आफ्नो मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन मञ्चका कार्यवाहक सचिव तिलक सिलवालले गर्नुभएको थियो ।
कार्यक्रम सल्वारोडस्थित कराँची ग्रील हाउस रेस्टुरेण्टको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटी अध्यक्ष कमल मणि गुरागाईं, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार विभिन्न वैचारिक संस्थाहरू, प्रदेश स्तरिय समन्वय समितिहरू, मुस्लिम धर्मावलम्बी गुरुहरू, राष्ट्रिय कमिटी सदस्यहरू, सामाजिक अभियन्ताहरूलगायतको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्