जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १०:२७

तीजले छपक्कै छोप्यो अस्ट्रेलियामा रहेका चेलीलाई


सिड्नी, भदौ ६

अस्ट्रेलियामा रहेका नेपाली चेलीहरुलाई अहिले तीजको रौनक छाइसकेको छ । अस्ट्रेलियामा तीज मनाउनका लागि मात्र करिब १ दर्जन कलाकारहरु आइसकेका छन भने अन्य एक दर्जन बढी आऊने क्रममा छन् । सिड्नीमा मात्र ३२ वटा तीजका कार्यत्रमहरु आयोजना हुदैछन् । यसका साथै मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा समेत सातैपिच्छेजसो तीजका कार्यक्रमहरु आयोजना गरिएका छन् ।

अहिले बिभिन्न शहरहरुमा आयोजना भइरहेको तीज कार्यक्रममा प्रस्तुती दिनकै लागि नेपालबाट कलाकारहरु कुलेन्द्र बिक, सन्दीप न्यौपाने, चन्दा अर्याल, टीका प्रसाई, सुनीता दुलाल, राजाराजेन्द्र पोखरेल, अञ्जली अधिकारी लगायतका दर्जन बढी आइसकेका छन् । १ लाख २० हजार बढी नेपालीहरु रहेको अस्ट्रेलियामा यसबर्ष अन्य बर्षहरुको तुलनामा दोब्बर संख्यामा तीज कार्यक्रम भएको कार्यक्रम आयोजकहरु नै बताउँछन् । तीजमा रातो साडी, चुरा पोते लगाएर नेपालबाट आएका कलाकारहरुसँगै गीतमा रमाउने वातावरण बनाइदिने मात्र नभएर अधिकांश स्थानमा सहभागीहरुलाई दर स्वरुप सेलरोटी अचार समेत खुवाइएको थियो ।

नेपालीहरुको यस्तै चाडपर्वको बहानामा अस्ट्रेलिया घुम्ने, आम्दानी गर्ने र यहाँका आफ्ना दर्शकस्रोताहरुलाई भेट्ने वहाना समेत कलाकारहरुले प्रशस्त पाइरहेका छन् । यसबर्षको तीज कार्यक्रममा अस्ट्रेलियामा पुरानादेखि नयाँ कलाकारहरुको ताँती नै लागेको छ । कलाकार अञ्जु पन्त, नायिका आँचल शर्मा, प्रकाश सपुत, प्रिती आले, बद्री पंगेनी लगायतका कलाकारहरु आउन बाँकी नै छ ।