जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार १६:३७

खानेपानी माग्दै मेयर हर्क साम्पाङद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र, कोशीको पानी धरान झार्न बजेट माग


काठमाडौं, २१ चैत । धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको छ । उहाँ धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेको भेटिनुहुन्छ । कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मेयर साम्पाङले ज्ञापन पत्र बुझाउनुभएको हो । मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघाले पनि प्रधानमन्त्रीलाई भेट्नुभएको छ । मेयर हर्क साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ । उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ । उपमहानगरले बानियाटार जलाशय निर्माणका लागि पनि बजेट मागेको छ ।

धरान–२० मा रहेको उक्त जलाशय निर्माण गर्न सके बर्खामासमा सर्दु र खर्दु खोलाको पानी सञ्चित गरेर कम्तीमा ४ महिना पुर्याउन सकिने उपमहानगरले भनेको छ । यसका लागि साढे १ अर्बको बजेट लाग्ने अनुमान गरिएको छ । हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।

नगरमा लामो समयदेखि खानेपानी समस्या भएकाले त्यसको सम्बोधनका लागि प्रधानमन्त्रीलाई भेटेर बजेट माग गरिएको उपमेयर बेघाले सुनाउनुभयो । धरानका समस्या समाधान गर्न विषयगत मन्त्रालयहरूमा पनि बजेट माग गर्दै सरकारको ध्यानाकर्षण गराएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘धरानको सडक, खानेपानी र पूर्वाधार विकासलाई फोकस गरेका छौं । प्रधानमन्त्रीज्यूले खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै बजेटले सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।’ मेयर साङपाङसहितको टोलीले आजै शिक्षामन्त्री अशोक राईलाई पनि भेटेको छ ।