जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १६:५६

मधेसमा विकासको सुरुवात एमालेले गरेको हो : अध्यक्ष ओली


वीरगन्ज, २२ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्व सरकारको पालामा तराई-मधेसमा विकासको सुरुवात गरेको बताउनुभएको छ । आज वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेकपा एमाले नेतृत्व सरकारको साढे तीन वर्षकै कार्यकालमा तराई–मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गर्नुभयो ।

उहाँले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको बताउनुभयो । एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास ’ कार्यक्रम ल्याएर हजारौँ गरीब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेसका वीरगन्ज, जनकपुर जस्ता ठूला सहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि म प्रधानमन्त्री भएकै बेला निर्माण गरेको हो ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकार हुदाँ जनातामा यो देशमा सरकार छ भन्ने अनुभूति थियो। तर अहिले त जनताले सरकार नै नभएको अनुभूति गरिरहेका छन् ।’ पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओली राष्ट्रिय गान त्रुटिपूर्ण रहेकाले सच्याउन सरकारसँग आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपर्छ किनकि राष्ट्रिय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ । तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ । त्यो त्रुटिपूर्ण छ। त्यो धुन हटाएर सच्याउनुपर्छ। म सरकारसँग यो आग्रह गर्छु ।’

अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताउनुभयो । उहाँले सामाजिक कुरीति, विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई सुझाव दिनु भयो । त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उहाँले बताउनुभयो ।