रुपन्देही, २३ चैत । लुम्बिनी बौद्ध विश्व विद्यालयलाई थप व्यवस्थित बनाउन जनप्रतिनिधिले प्रतिबद्धता जनाउनुभएको छ । बुटवलमा विश्वविद्यालय अन्तर्गतको पहिलो सिटी क्याम्पस उद्घाटन कार्यक्रममा उहाँहरूले बौद्ध शिक्षासँग सबै विषयमा अध्यापन गर्ने नमूना विश्वविद्यालय बनाएर समग्र जिल्लालाई शैक्षिक हब बनाउने अभियान थाल्ने बताउनुभएको हो । बुटवल–१२ नयाँगाउँमा बुद्धिजमका विविध विषयमा पढाई हुँदै आएको यो क्याम्पसको पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै बुटवललाई शैक्षिक हबको रूपमा विकास गरिने बताउनुभयो ।
उहाँले लुम्बिनी बौद्ध विश्व विद्यालय चाहिन्छ भन्ने अभियानमा आफूले लामो समयदेखि नै पहल गर्दै आएको बताउँदै काठमाडौंमा रहेको लुम्बिनी विश्व विद्यायलले लुम्बिनीमा केन्द्रीय कार्यालय स्थापना गरेर छोटो समयमा राम्रो प्रगति गरेको बताउनुभयो । लुम्बिनी विश्व विद्यालयलाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्मा सरकारले लिएर सबै प्रक्रिया अगाडि बढाउनको लागि पौडेलले आग्रह गर्नुभयो । उहाँले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुको विकल्प नभएको बताउनुभयो । पौडेलले जनताको साथ, समर्थनबाट रुपन्देही एउटा नमूना जिल्लाको रूपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताउनुभयो ।
लुम्बिनी विश्व विद्यालयसँगको सहकार्यलाई बीटीआईलाई इन्जिनियरिङ्ग कलेजको रूपमा विकास गर्नेगरी काम अगाडि बढाउनको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाले समेत यो विषयमा चासो देखाएको भन्दै उनले सबैको साथ र सहयोगले त्यो कामले सार्थक पाउने जनाउनुभएको छ । लुम्बिनीका प्रदेशका पूर्वमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले बौद्ध शिक्षा, दर्शनको महत्व पछिल्लो समयमा बढ्दै गएको भन्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका आंगिक क्याम्पसहरू देशैभर नै विस्तार हुनुपर्ने बताउनुभएको थियो ।
उहाँले प्रदेश सरकारले यसको लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुर्दशन बरालले लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी कलेज स्थापनको लागि आफू मन्त्री हुँदा ठूलो पहलबाट नै सम्भव भएको र अहिलेको अवस्थाले आफूलाई खुसी बनाएको बताउनुभयो । लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्व विद्यालयको योजना अव सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी काम अगाडि बढाउने बताउनुभएको थियो ।
उहाँले अहिले विश्वविद्यालयमा बौद्ध, दर्शन, शिक्षासहित पर्यटन, व्यवस्थापन र कानून विषयमा समेत अध्यापन भैरहेको जानकारी दिदै स्थापनाको लामो समयपछि लुम्बिनीमा नै केन्द्रीय कार्यालय स्थापना गरी काम गर्न सफल भएको बताउनुभयो । उहाँले केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरेपश्चात विद्यार्थीहरुको चाप क्याम्पसमा बढ्दै गएकाले नयाँ नयाँ क्षेत्रको खोजी भइरहेको जनाउनुभयो । ५ करोड २० लाख ५० हजार लागत २ तले शैक्षिक भवन निर्माण गरिएको हो । कार्यक्रममा नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, प्रध्यापक संघका पूर्व अध्यक्ष बलबहादुर पाण्डेलगायतले यो क्षेत्रमा गरिएको लगानीले देशैभरका विद्यार्थीलाई सहज बनाएको बताउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्