काठमाडौं, २५ चैत्र । रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न भएको छ । वैशाख कृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोली बिसाएको भनिएको ठाउँ लगनखेलको रुखका फेदमा स्थायी रूपले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँ–ठाउँबाट ल्याइएका जलले भरिएको घडा बोकी चार दिशामा उभिएर मन्त्रोच्चारणसाथ विधिपूर्वक स्नान गराइएको छ ।
आज नै दिनको मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिँढीमा ल्याएर राख्ने परम्परा छ । रातो मत्स्येन्द्रनाथ ९मच्छिन्द्रनाथ० को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म झन्डै दुई महिनासम्म मनाइन्छ । यो जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्त्व छ । पाटनको सबैभन्दा महच्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा पनि हो ।
लोक कथनअनुसार टौदहका नागराज कर्कटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गरेको कथन छ ।
दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो । त्यो विवाद राजासमक्ष पुर्याउँदा लिच्छिवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल त्यो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । त्यही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन त्यो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।













प्रतिक्रिया दिनुहोस्