जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार २१:०७

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


हेटौंडा, चैत २६ । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद र गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामालाई आइतबार साँझ शपथ गराउनु भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहादुर सिंह र तीर्थलाई आजै मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । आज थपिएका मन्त्रीहरू दुवैजना नेपाली कांग्रेसको तर्फबाट हुन्।

बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जम्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

उहाँले पुस २६ गते ३ सदस्यीय मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए। जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री राप्रपाका उद्धव थापा नियुक्त हुनुभएको थियो । माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जम्कट्टेलले एमाले र राप्रपाको गरी थप ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

केन्द्र सरकारमा राजनीतिक समिकरण बदिलिएसँगै फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो। सोही दिन राप्रपाको तर्फबाट मन्त्री बनेका ३ जनाले पदबाट राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो।