जनता टाइम्स

७ भाद्र २०७६, शनिबार ०९:०३

एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा


काठमाडौं, भदौ ७

गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ। ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ शुरु हुने महाधिवेशनले नँया नेतृत्व समेत चयन गर्नेछ ।

संघको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो। उक्त विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने छ। सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्यअन्तिम चरणमा पुगेको छ। आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला संघसंस्थाका अध्यक्ष रहने व्यवस्था छ।

यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ। यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ। महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ। भट्टले अर्को कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि अहिले कुमार पन्त र कुल आचार्यले अध्यक्षको उम्मेदवारी दिने घोषण गरिसक्नु भएको छ ।