जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १२:१३

पर्यटनमन्त्री भट्टराईले सुनाए सरकारको बटमलाइन : संघीयता र गणतन्त्रविरोधी गतिविधि गर्नेलाई छाडिन्न


पाँचथर, भदौं ७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संघीयता र गणतन्त्रको विरुद्ध लाग्नेलाई सरकारले नछाड्ने प्रष्ट पार्नुभएको छ । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङको भ्रमणमा आउनु भएका नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका भट्टराईले जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।

‘हत्या, हिंसा, आतंक, संघीयता, गणन्त्रविरोधीलाई सरकारले स्वीकार गर्दैन,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको छ तर संविधानभन्दा बाहिर गएर हिंसा, हिंसा, आतंक फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्दैन ।’

मन्त्री भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले दलहरुबीच विकास र समृद्धिको एजेन्डामा प्रतिस्पर्धा हुनुपर्ने धारणा पनि राख्नुभयो । समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने उहाँको भनाइ थियो । आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको पनि मन्त्री भट्टराईले प्रष्ट पार्नुभयो ।