काठमाडौं, २८ चैत्र । अहिले काठमाडौं उपत्यकामा घरबाहिर निस्कँदा धुवाँको चर्को गन्ध अनुभव भइरहेको छ । वायुमण्डलको तल्लो तहमै धुवाँ फैलिएकोले घरबाहिर निस्कँदा धुवाँको गन्ध अनुभव भएको हो । यो धुवाँ देशका विभिन्न ठाउँमा भइरहेको डढेलोबाट आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार पछिल्लो २४ घण्टामा देशका छ सय दुई वटा ठाउँको जङ्गलमा डढेलो लागेको छ । उपत्यकासहित धेरै ठाउँको हावामा धुवाँ फैलिरहेको छ । केही ठाउँमा धुवाँले अकाश धुम्मसमेत भएको छ । कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको डढेलोविद् शर्माले बताउनुभयो । नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताउनुभयो । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उहाँले बताउनुभयो ।
यस्तै डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापार्बाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्