जनता टाइम्स

२९ चैत्र २०७९, बुधबार २२:२७

सिरहा : अस्पतालको जेनेरेटरमा आगलागी हुँदा भाग्ने क्रममा एक जनाको ज्यान गयो


काठमाडौं, २९ चैत्र ।  सिरहामा रहेको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी हुँदा भाग्ने क्रममा एक जनाको ज्यान गएको छ ।

सदरमुकाम सिरहा बजारमा रहेको प्रादेशिक अस्पतालमा आज बुधवार दिउँसो भएको घटनामा सिरहाको बरियारपट्टी नगरपालिका वडा नम्बर २ खोक्सीका ६० वर्षका प्रदीपकुमार दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

डायलासिसपछि शरीरमा रगत चढाउँदै गरेको बेला भाग्दा दासको अक्सिजन छुट्नुको साथै रगतको पाइप चुडिएर रक्तश्रावसमेत भएको पाइएको अस्पतालले जनाएको चौधरीले बताउनुभयो ।डायलासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएको हो । तीन वर्षदेखि बिरामीबाट थलिएका दासको प्रादेशिक अस्पताल सिरहामा हरेक हप्ताको बुधवार डायलासिस हुँदै आएको थियो । आगलागीको समयमा आठ जना बिरामीले डायलासिस गराइरहेका थिए । आगलागीबाट जेनेरेटर सहित झ्याल ढोकामा क्षति पुग्दा झन्डै ४० लाख रुपैयाँ बराबरको नोक्सान भएको अनुमान गरिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।