जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १७:१५

प्रदीप ज्ञवालीको निश्कर्ष : सुधार देख्दादेख्दै राम्रा काम भएकै छैन झैँ गरी बहकिए मिडिया र वुद्धिजीवी


काठमाडौं, भदौं ७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो, राम्रा काम भएकै छैनन भनेझैँ गरी समाज बहकिँदै जान थालेको निश्कर्ष सुनाउनु भएको छ । काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सो निश्कर्ष सुनाउनु भएको हो ।

अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै मन्त्री ज्ञवालीले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताउनुभयो । मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभयो । ‘सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन जस्तो गरी जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

समाजमा भएका खराबी विरुद्ध लड्ने सामथ्र्य सरकारसँग रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?,’ मन्त्री ज्ञवालीको प्रश्न थियो । वेल्जिएममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रष्ट्याउँदै उहाँले देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको तथ्य पनि राख्नुभयो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उहाँको भनाई छ । ‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने कर्मचारी पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नी,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको तथ्य राख्दै मन्त्री ज्ञवालीले विकृति विरुद्धको लडाइँ शुरु भएको ठोकुवा गर्नुभयो । कार्यक्रममा उहाँले नेपाली समाजको बहुआयामिक सँस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।