८ भाद्र २०७६, आईतबार ००:००

सालिकराम आत्महत्या प्रकरणमा खुल्यो नयाँ तथ्य : प्रेमिकासँग भेट्न लिएका थिए छुट्टै कोठा


काठमाडौं, भदौं ८ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको तथ्य फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताउनु भयो।

‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भन्नुभयो, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताउनु भयो। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भन्नुभयो, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो। पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेको भनाई छ । पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। ‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले भन्नुभयो, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए।