जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १३:३०

रवि लामिछानेसहित तीनै जनाबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा : निर्णय लिँदै सरकारी वकिल


चितवन, भदौं ८ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ । तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएपछि आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको हो ।

अनुसन्धानका लागि खटिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एसपी दीपक रेग्मीले आज पत्रकार सम्मेलन गरी अनुसन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभएको हो । रेग्मीका अनुसार अब अगाडिको प्रकृयाको टुंगो लगाउनुपर्ने जिम्मा सरकारी वकिलको हुनेछ ।

प्रहरीका अनुसार आज तीनै जना आरोपीहरुलाई या त थुना मुक्त गर्नुपर्छ वा अदालतमा उपस्थित गराएर अगाडिको काम कारबाही तय गर्नुपर्ने हुन्छ । अनुसन्धान पूर्ण भइसकेको अवस्थामा जिल्ला सरकारी कार्यालयले फाइलको अध्ययन गरी को–कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नसक्छ । मुद्दा चलाउने निर्णय भए आजै मुद्दासहित तीनैजना आरोपीलाई अदालतमा पेश गरिन्छ र अदालती प्रकृया सुरु हुन्छ ।

सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धानमा थप केही प्रमाणहरु चाहिने वा अनुसन्धान गर्नुपर्ने लागेमा प्रहरीलाई थप अनुसन्धानका लागि फाइल फिर्ता पठाउन सक्ने कानूनी ब्यवस्था रहेको छ । यदी सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा आरोपीहरुलाई अभियोजन गर्न सकिँदैन भन्ने लागेमा मुद्दा नचालउने सिफारिस गर्न सक्छ । जिल्ला सरकारी कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताले सदर गर्नुपर्ने हुन्छ भने यसैबीच प्रहरीले आरोपीहरुलाई थुनामुक्त गर्नसक्छ ।

हिरासतमा लिएको व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रवधान छ । चितवन प्रहरीले रवि लामिछाने युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय लिएको थियो। मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ ।

यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ । मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन । गत साउन २० गते राति नारायणगढको कंगारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुसन्धान गरेको हो । रविसहित तीनै जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

आत्महत्या दुरुत्साहन प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ । चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन । तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ । जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद सजाय भएको छ ।