जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १५:०८

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीमा गैसस सम्मेलन


काठमाडौं, भदौ ८

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ ।

जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताउनुभयो ।

सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनु हुनेछ भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहनुभएका अध्यक्ष थापा र गोटिङ्गेनका डा वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ ।

सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।