जनता टाइम्स

११ बैशाख २०८०, सोमबार १३:३४

उपनिर्वाचनमा कांग्रेसलाई माओवादीबाट गम्भीर धोका : भाषण एकातिर, मत जति स्वर्णिमतिर


तनहुँ, बैशाख ११ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई गम्भीर धोका दिएको प्रमाण बाहिरिएको छ ।

आफ्नो उम्मेदवार नउठाएर सत्तारुढ कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई मत मागेको माओवादीले आफ्नो मतजति सवै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई दिएको पाइएको हो ।

माओवादीको सवै मत पाएकै कारण माओवादी वर्चश्वको रहेको तनहुँ–१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाउनु भएको छ । ६ वडा रहेको यो गाउँपालिकाको मतगणना सकिसकेको छ ।

यो पालिकाबाट तनहुँ–१ का प्रमुख तीन प्रतिस्पर्धी उम्मेदवार वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालले गरी ६६८८ मत पाउनु भएको छ । त्यसमध्ये स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाउनु भएको छ भने कांग्रेसका भट्टराई १६४८ अर्थात २५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । एमालेका खनालले भने ५९६ अर्थात् ९ प्रतिशत मात्रै मत पाउनु भएको छ ।

गएको स्थानीय चुनावमा आँबुखैरेनी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लाएक्लै चुनाव लडेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको छ यो गाउँपालिकामा । यहाँ माओवादीले ३९४० मत पाएर अध्यक्ष जितेको थियो भने कांग्रेसका अध्यक्ष उम्मेदवार २२३० मत पाएका थिए ।

तीन वटा वडामा अध्यक्ष जितेको माओवादी केन्द्रका अरू तीन वडामा दोस्रो भएको थियो । आँबुखैरेनी–१ मा यसपालि एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका स्वर्णिम वाग्लेले एक हजार ६५, कांग्रेसका गोविन्द भट्टराईले दुई सय ६५ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५४ मत पाउनु भएको छ ।

उक्त वडामा स्थानीय निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । माओवादीले वडामा आठ सय ५९ मत पाएको थियो । कांग्रेसले चार सय १५ र एमाले तीन सय ५१ मत पाएको थियो ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ८१, कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत पाउनु भएको छ । उक्त वडामा स्थानीय निर्वाचनमा माओवादी केन्द्रका आसबहादुर गुरुङ विजयी हुनुभएको थियो । उहाँले ६ सय ६७ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका सरोज पन्तले ४ सय ९५ मत र स्वतन्त्र उम्मेदवार कटक बहादुर थापाले ३ सय ५ मत ल्याउनु भएको थियो ।

यस्तै आँबुखैरेनी–३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाउनु भएको छ । यस्तै भट्टराईले ४०१ र खनालले १९१ मत पाउनु भएको छ । वडा नं ३ आँबुखैरेनीको बजार क्षेत्र हो । स्थानीय तह निर्वाचनमा यो वडाको अध्यक्ष कांग्रेसले जितेको थियो। कांग्रेसका दिनेश केसीले १ हजार ८ मत, माओवादी केन्द्रका विमल बाबु रानाले ६ सय ५ मत र एमालेका पूर्णबत्रहादुर आलेले ४ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

आँबुखैरेनी–४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाउनु भएको छ । आँबुखैरेनीको वडा नं ४ मा कांग्रेसका मिलन भुजेलले ४ सय ३३ मत पाउनु भएको थियो भने माओवादी केन्द्रका नेत्रबहादुर रानाले २ सय १९ मत र एमालेका वृखबहादुर गुरुङले १ सय ७६ मत पाउनु भएको थियो ।

आँबुखैरेनी–५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाउनु भएको छ । उक्त वडामा स्थानीय तह निर्वाचनमा सन्तोष गुरुङ विजयी हुनुभएको थियो । उहाँले २ सय ८८ मत ल्याउदा एमालेका चित्रबहादुर आलेमगरले २ सय ८० र कांग्रेसका कर्णबहादुर गुरुङले २ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।

आँबुखैरेनी– ६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाउनु भएको छ । यो वडामा नेकपा एमाले विजयी भएको थियो। एमालेका दीलिप गुरूङले २९० मत पाएर बिजयी बन्दा माओवादी केन्द्रका प्रवीण गुरूङमात्र ३ मतले पराजित हुनुभएको थियो । त्यस्तै कांग्रेसका मेखबहादुर गुरूङले २२८ मत ल्याउनु भएको थियो ।

उपनिर्वाचनमा कांग्रेस र एमाले दुवै दलमा अन्तर्घात देखिएको छ भने माओवादीको मत सवै रास्वपातिर खन्याइएको पाइएको छ ।