जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १८:०८

झुटो विवरण बुझाए अव कर छलीकै कसुरमा कारवाही


काठमाडौं, भदौं ८ । अवदेखि स्वयं कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारवाही हुने भएको छ । संसदीय समितिमा छलफलको क्रममा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक–२०७५ मा व्यक्तिले झुटा विवरण बुझाएको पाइएमा कर छली कसुरअनुसार नै कारवाही हुने कडा व्यवस्था गरिएको हो ।

प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयं कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छली सरह अपराध ठहर भई कारवाही हुने ब्यवस्था राखिएको प्रष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाका अनुसार बदमासी गर्नेमाथि कठोर नीतिसहित सरकारले यस्तो ब्यवस्था गरेको हो ।

समितिमा सांस्दहरुले भने दण्ड सजायसम्बन्धी विधेयकमा उल्लिखित व्यवस्थामा केही संशोधन गर्नुपर्ने बताएका छन । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजस्व असुलीमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख रुपैयाँसम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवानासहित कैदको व्यवस्था गर्नुपर्ने सांसदहरुको सुझाव छ ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्ने सुझाव दिएका छन । सांसदहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजस्व असुली नहुने तर्क गरेका छन ।