जनता टाइम्स

१४ बैशाख २०८०, बिहीबार १८:२८

सन्दिप लामिछाने चम्कदा ८९ रनमै अलआउट भयो कतार : सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल


काठमाडौं, बैशाख १४ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो ।

समूह ‘ए’ को विजेताको रुपमा रहेको नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनल खेलमा भने ओमान र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबार नै भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।

तर जवाफमा आएको कतारलाई पनि सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै ८९ रनमा अलआउट गर्यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन ।

यस्तै बलर सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे । यस्तै सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ३ र ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

यसअघि सन्दीप र ललितले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बल खेली ६ चौका प्रहार गरे । ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बल खेली १ रन बनाए ।

विश्वकप लिग २ को पछिल्लो ३ महिनामा १२ मध्येको ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको नेपाललाई वरियताविहीन कतारले वास्तविक परीक्षा लिएको थियो । समूहचरणको अन्तिम खेल खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । कतारसँगको विजयले नेपाललाई समूह विजेता बनाउथ्यो । कतार अघिल्ला तीन खेल नै हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल सबै चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यसै समूहबाट ओमान उपविजेता भई अघिल्लो दिन नै सेमिफाइनल पुगेको थियो । ओमानले ४ मध्येको तीन खेल जित्यो । समूह ‘बी’ बाट यसअघि नै यूएई सेमिफाइनल पुगिसकेको छ ।