जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १३:२०

नेकपाले लगायो नेतादेखि कार्यकर्तासम्मलाई सार्वजनिक आलोचनामा प्रतिबन्ध, थपिए चार केन्द्रीय सदस्य


काठमाडौं, भदौं ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेतादेखि कार्यकर्तासम्मलाई पार्टी र नेताको बिषयमा सार्वजनिक आलोचनामा प्रतिवन्ध लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टी नेता कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिकाटिप्पणीमा प्रतिबन्ध लगाएको हो ।

‘हाम्रो पार्टीको नेतादेखि तल्लो तहका कार्यकर्तासम्मका कमरेडहरुको पार्टीका नेता वा कार्यकर्ताको बारेमा कुनै कुरा ब्यक्तिगत रुपमा उठाउनु परेमा पार्टीभित्र प्रक्रियासम्मत ढंगले उठाउनु पर्नेछ । यसलाई सार्वजनिक रुपमा गएमा स्पष्टिकरण प्रक्रिया अगाडि बढाउँदै कार्वाही गर्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । उहाँले बैठकले केही जिल्लाको इञ्चाज हेरफेर तथा सहइञ्चार्ज थपघट गर्ने निर्णय बैठकले गरेको जानकारी पनि दिनुभयो ।

आजको बैठकले निर्देशिकासहित अर्काे बैठकबाट प्रवास कमिटीको निर्णय लिने सहमति गरेको छ । यस्तै बरिष्ठ नेता झलनाथ खनाल प्रमुख रहनुभएको नीति अध्ययन प्रतिष्ठानको उपप्रमुखमा प्रमेश हमाललाई तोकेको छ । यस्तै बिदेश बिभागको उपप्रमुखमा बिष्णु रिजाललाई थप गरेको छ ।

बैठकले पार्टी एकता प्रक्रियापछि आएका चार जनालाई केन्द्रीय कमिटी सदस्यमा थप गरेको छ । यसरी थप हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई हुनुहुन्छ ।  बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।