जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १९:३०

भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने


चितवन, २५ वैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताउनुभएको छ । भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताउनुभयो ।

प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताउनुभयो ।

महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पार्नुभयो । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्रचार पनि गरेको छ ।