काठमाडौं, भदौ १० । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानैपर्ने बटमलाइन सुनाउनु भएको छ ।
संघीय संसदको अर्थ समितिको आज बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपर्ने बताउनु भएको हो । राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुनेगरी नै एक दिन भए पनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो ।
बैठकमा पूर्व अर्थमन्त्रीहरुले भने राजस्व चुहावट सम्बन्धि कसुरको दण्ड तथा जरिवानामा फरक फरक धारणा राखे । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व असुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले राजश्वको ठुलो अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन सचेत हुनुपर्ने भन्दै कसुर अनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरी कानुनी ब्यबस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजश्व चुहावट र अपचल उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकोले तिनै पक्ष दण्डित हुनेगरी कानुनी व्यवस्था गर्न सुझाव दिनुभयो ।
अर्थ समितिको छलफलमा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको व्यवस्थामा व्यवसायीहरुले पनि असन्तुष्टि जनाइरहेका छन् । यसबारे व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराईसकेका छन् । तर अर्थमन्त्री खतिवडाले जानजान राजस्व छली गर्नेमाथि सरकार उदार हुन नसक्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्