काठमाडौं, भदौं १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तक्रिया गर्नु स्वाभाविक भएको प्रष्ट पार्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेका अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्यथा ढंगले व्याख्या विश्लेषण गर्न जरुरी नभएको प्रष्ट पार्नुभएको हो ।
मन्त्री बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको ठोकुवा गर्नुभयो । ‘कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो,’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘सार्वभौमसत्ता सम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर जानुभएको होइन । केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।’
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्रिया गर्न सक्ने निर्णय गरेको थियो । सोही निर्णयपछि सोमवार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुभएको हो । मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत चेतावनी दिनुभयो ।
‘प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी बजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर उफ्रन जरुरी छैन, यस्ता कुरामा कुनै तुक छैन,’ मन्त्री बाँस्कोटाको भनाई थियो । आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गर्नुभएको हो ।
‘कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ, यस्तो वाहियात कुरा गर्ने ? प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उहाँले आफ्ना मन्त्रीसँग अन्तरक्रिया गर्नुभएको हो,’ मन्त्री बाँस्कोटाको भनाई थियो । आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न पनि मन्त्री बाँस्कोटाले सवैलाई सुझाव दिनुभयो । गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै उहाँले क्षणिक सन्तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको तुक नभएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्