जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १३:३०

झुटा समाचारबिरुद्ध कानून कार्वाहीमा इश्वर पोखरेल, प्रमाणसहित प्रेस काउन्सिलमा उजुरी


काठमाडौं, बैशाख २९ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै एक अनलाइनबिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ ।

बरिष्ठ उपाध्यक्ष पोखरेलका स्वकीय सचिव ध्रुवप्रसाद थपलियाले आज काउन्सिलमा उजुरी गर्नुभएको हो । बिहीवार मात्रै रातोपाटी अनलाइनले पोखरेलले निर्वाचन आयोगको गाडी नीजि बनाएर हडपेको भन्दै समाचार प्रकाशन गरेपछि पोखरेल प्रमाणसहित कानूनी कार्वाहीमा उत्रनुभएको हो ।

पोखरेलले प्रयोग गर्ने गाडी नेकपा एमाले केन्द्रीय कार्यालयको भएको र सो गाडी पार्टीले आफूलाई पदीय मर्यादाअनुसार दिएको तथ्यसहित पोखरेलले फेक समाचारबिरुद्ध उजुरी दिनुभएको हो ।

‘नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रयोग गर्दै आउनुभएको गाडीको विषयमा रातोपाटी अनलाइनमा २०८० बैशाख २८ गते प्रकाशित “निर्वाचन आयोगको गाडीमा एमाले नेता ईश्वर पोखरेलको रजाइँ ! सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग” शीर्षकको समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । हाल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रयोग गर्दै आउनुभएको बा १२ च ५२११ नम्बरको निजी गाडी हाम्रो पार्टी कार्यालयले उहाँलाई पदीय हैसियत बमोजिम जिम्मेवारी निर्वाह गर्न प्रदान गरेको हो,’ झुट्टा समाचारको खण्डन गरी कानुनी कारबाही सम्बन्धमा भन्दै उजुरीमा भनिएको छ ।

उजुरीमा कार्वाहीको समेत माग गरिएको छ । ‘पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडी लगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरणहरु उहाँले मन्त्री पदबाट बिदा भएकै दिन सम्बन्धित निकायमा बुझाएको कुरा यसअघि नै जानकारी गराइसकिएको छ,’ उजुरीमा भनिएको छ ।

उजुरीको पूर्णपाठ

श्री अध्यक्षज्यू,
प्रेस काउन्सिल नेपाल
काठमाडौं, नेपाल

विषयः झुट्टा समाचारको खण्डन गरी कानुनी कारबाही सम्बन्धमा ।

महोदय,

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रयोग गर्दै आउनुभएको गाडीको विषयमा रातोपाटी अनलाइनमा २०८० बैशाख २८ गते प्रकाशित “निर्वाचन आयोगको गाडीमा एमाले नेता ईश्वर पोखरेलको रजाइँ ! सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग” शीर्षकको समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । हाल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रयोग गर्दै आउनुभएको बा १२ च ५२११ नम्बरको निजी गाडी हाम्रो पार्टी कार्यालयले उहाँलाई पदीय हैसियत बमोजिम जिम्मेवारी निर्वाह गर्न प्रदान गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडी लगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरणहरु उहाँले मन्त्री पदबाट बिदा भएकै दिन सम्बन्धित निकायमा बुझाएको कुरा यसअघि नै जानकारी गराइसकिएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रयोग गर्दै आउनुभएको भनी समाचारमा उल्लेख भएको गाडी सरकारी र निर्वाचन आयोग भन्ने कुरा सरासर झुट्टा हो । उहाँले सरकारी जिम्मेवारीबाट बिदा भएपछि कुनै पनि सरकारी गाडी प्रयोग गर्नुभएको छैन् । तर, यति हुँदाहुँदै पनि पत्रकारिताको आचारसंहिता र मर्यादालाई समेत ख्याल नगरी वरिष्ठ उपाध्यक्ष पोखरेलको चरित्रहत्या गर्ने उद्देश्यले एकतर्फी रुपमा झुट्टा समाचार प्रकाशित भएको र समाचार प्रकाशित भइसकेपछि सोको सत्यतथ्य मौखिक रुपमा जानकारी गराउँदा समेत खण्डन नगरी जनमानसमा भ्रम फैलाउने र सामाजिक प्रतिष्ठामा आँच ल्याउने मनशाय देखिएको हुँदा सो समाचारको खण्डन गरी क्षमायाचना गर्न र आवश्यक कानुनी कारबाहीका लागि अनुरोध गर्दछौं । आगामी दिनमा उहाँसँग सम्बन्धित विषयमा कुनै जानकारी लिन परेमा हामी सँधै तत्पर रहेको सचिवालयका तर्फबाट जानकारी पनि गराउँदछौं ।

धु्रवप्रसाद थपलिया
स्वकीय सचिव
नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सचिवालय