जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार ०९:५४

रुख काटेको आरोपमा सामुदायिक वनकै अध्यक्ष पक्राउ


उदयपुर, बैशाख ३१ । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरेलाई पक्राउ गरिएको हो ।

जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक बन भित्रका रुख कटान गरेर आफना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो ।

डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहका अनुसार सदावहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडे पछि उहाँलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

तर, अध्यक्ष घिमिरेले भने सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गर्नुभएको छ । सव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा उक्त रुखहरु काटेर उपभोक्तलाई वितरण गरेको उहाँको भनाई छ ।