काठमाडौं, जेठ १ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकार संबिधान मिच्ने काममा लागेको भन्दै सो कार्य एमालेलाई स्वीकार्य नहुने बताउनु भएको छ ।
राष्ट्रपतिको अस्वस्थ भएपछि प्रधानमन्त्रीले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी अघि बढाएपछि एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमार्फत नै खवरदारी गर्नुभएको हो । उहाँले राष्ट्।पति अस्वस्थ भए सरकारको नीति तथा कार्यक्रम उपराष्ट्रपतिले बाचन गर्नुपर्ने बताउनु भएको छ ।
सरकारले जेठ ५ गते संसदमा पेश गर्न लागेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्ने गरी छलफल अघि बढाएपछि उहाँको यस्तो धारणा आएको हो ।
‘संविधान मिच्ने काम नगरौं ! ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भनिएको छ । त्यसको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक÷कानुनी व्यवस्था छ’, रिमालले फेशबुकमा लेख्नुभएको छ, ‘तर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना । अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे !’
उपराष्ट्रपति पनि उपलब्ध नहुने अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने व्यवस्था भएको समेत रिमालले स्मरण गराउनु भएको छ । ‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्नेगरी कार्यवाहक तोकौं । यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौं । तर संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम नगरौं’ रिमालको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्