जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १८:१३

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप


धनकुटा, ३ जेठ । धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ । उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक/एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद रु चार हजार हात पारे । त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए ।

उनीहरूले रु सात÷सात हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरेका छन् । खेलाडीलाई पुरस्कार आयोजक संस्था सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, श्रेष्ठका पुत्रद्वय मनोहरनारायण श्रेष्ठ र रामनारायण श्रेष्ठ, एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौं, कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपीएफ काठमाडौं र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको थियो ।

विसं २०५५ मा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले यो प्रतियोगिताको सुरुआत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।