काठमाडौं, असोज ४ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा कराँतेतर्फ स्वर्ण पदकको अपेक्षा गरिएकी एरिका गुरुङ सेमिफाइनलमै पराजित हुनुभएको छ ।
आइतबार नागोयामा भएको महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिका कजाखस्तानकी बेरुल्टसेभा सोफ्यासँग २–१ ले पराजित हुनुभएको हो । एरिकाले युकोबाट एक अंक जोड्नुभएको थियो भने सोफ्याले दुई अंक जोड्दै जित हात पार्नुभएको थियो ।
यसअघि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको थियो । सेमिफाइनलसम्म पुगेसँगै एरिकाले कास्य पदक पक्का गर्नुभएको छ ।
एरिकाले यसअघि १९औँ एसियाली खेलकुद, प्रिमियर लिग र एसियन च्याम्पियनसिपमा रजत पदक जित्नुभएको थियो । नेपालले यसपटक उहाँबाट स्वर्ण पदकको अपेक्षा गरेको थियो ।
यसैगरी नेपालका राकेश मानन्धर पनि सेमिफाइनलमा पराजित हुनुभएको छ । पुरुष कुमुते ५५ केजीमुनिको सेमिफाइनलमा राकेश उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जासँग ७–० ले पराजित हुनुभएको हो । यसअघि राकेशले थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराउँदै सेमिफाइनल पुग्नुभएको थियो ।
यस्तै, मिनबहादुर तामाङ पुरुष कुमुते ६० केजीमुनिको सेमिफाइनलमा कुवेतका साहव अब्दुल्लाहसँग १०–१ ले पराजित हुनुभएको छ । सेमिफाइनल प्रवेश गरेसँगै उहाँको पनि कास्य पदक पक्का भएको छ । यसअघि उहाँले प्रिक्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४–१ ले पराजित गर्नुभएको थियो ।
एरिकासँगै राकेश र मिनबहादुरले कास्य पदक पक्का गरेपछि एसियाडमा कराँतेतर्फ नेपालको कम्तीमा तीन कास्य पदक सुनिश्चित भएको छ ।
कराँते कुमुतेतर्फ नेपालबाट राकेश मानन्धर, मिनबहादुर तामाङ, तेन्जिङ शेर्पा, निरुपा डोङ तामाङ र एरिका गुरुङले प्रतिस्पर्धा गरिरहनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्