जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:१८

फिफाबाट एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल


काठमाडौं, असोज ५। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फामाथि) फिफाले लगाएको निलम्बन फुकुवाका लागि सरकारले उच्चस्तरीय पहल गरिरहेको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार एन्फाको विधान संशोधन गरी तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको जानकारी दिनुभयो।

परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र त्यसपछि कार्यसमितिको चैत १२ गतेको निर्णयअनुसार एन्फालाई निलम्बन गरिएको उहाँले बताउनुभयो।

परिषद्ले दिएको निर्देशनलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फालाई निलम्बन गरेको मन्त्री पोखरेलको भनाइ थियो।

उहाँले फिफाले निलम्बन गरेपछि नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुन नसकेको प्रतिनिधि सभालाई जानकारी गराउनुभयो।

निलम्बनको अवधि तोकिएको छैन भन्दै मन्त्री पोखरेलले सरकारको उच्चस्तरीय पहलबाट चाँडै निलम्बन फुकुवा हुने अपेक्षा गरिएको बताउनुभयो।

उहाँले एन्फाको निलम्बन फुकुवाका लागि प्राप्त निवेदनमाथि कारबाही गर्दै राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निलम्बन फुकुवा गरेको समेत जानकारी दिनुभयो।

यसैबीच, मन्त्री पोखरेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधानका लागि सरोकारवालाको सुझाव समेटेर शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षक अभाव तथा दरबन्दी मिलानका विषयमा समेत सरकार गम्भीर रहेको उहाँले बताउनुभयो।