काठमाडौं, असोज ४ । जापानको आइची–नागोयामा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका बक्सर चन्द्रबहादुर थापामगर र महिला कबड्डी खेलाडी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेर मार्चपास गरेका छन् ।
शनिबार मिजुहो पार्क रंगशालामा आयोजित भव्य समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा सहभागी राष्ट्रका खेलाडीको मार्चपाससँगै विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
चन्द्रबहादुरले गत वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि कांस्य पदक जितेका थिए । मानमती विष्ट भने सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन् ।
यसपटकको एसियाडमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुँदैछन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् ।
नेपाली खेलाडीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौडी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो र ब्याडमिन्टनलगायत खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित एसियाडमा सहभागिता जनाएको छ । करातेकी एरिका गुरुङसहित बक्सिङलगायतका खेलाडीबाट नेपालले पदकको अपेक्षा गरेको छ । एरिकाले १९औँ एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन् ।
प्रतियोगितामा नेपालसहित ४५ देश र एक शरणार्थी टोलीका खेलाडी सहभागी छन् । एसियाली खेलकुद एसिया महादेशकै ठूलो बहुखेलकुद प्रतियोगिता हो ।












प्रतिक्रिया दिनुहोस्