जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १८:१३

तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक


काठमाडौं, असोज ७ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको पाँचौँ दिन नेपालले पहिलो पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा कांस्यपदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाउनुभएको हो।

टोयाहासी जिम्नेसियममा भएको प्रतिस्पर्धामा तेन्जिङ क्वार्टरफाइनलमा मकाओका लिओङ अन टेकविरुद्ध प्रतिस्पर्धा गर्नुभएको थियो। लिओङले चौथो चेतावनी पाएपछि अयोग्य घोषित हुँदा तेन्जिङ सेमिफाइनलमा पुग्नुभएको थियो।

सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० अंकले पराजित हुनुभयो। त्यसपछि कांस्यपदकका लागि भएको रेपिचेज खेलमा लाओसका जायासन वात्थानालाई ९–१ ले पराजित गर्दै उहाँले कांस्यपदक पक्का गर्नुभयो।

पदक जितेपछि तेन्जिङले देशका लागि पदक ल्याउन पाउँदा खुसी लागेको बताउनुभएको छ। एसियाली खेलकुदमा पदक जित्ने आफ्नो सपना पूरा भएको उहाँको भनाइ छ।

यसअघि करातेमा पदकको दाबेदार मानिएका एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर कांस्यपदकका लागि भएको खेलमा पराजित हुनुभएको थियो। निरुपा दोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिनुभएको थियो भने टिम कातामा नेपालले चाइनिज ताइपेईसँग कांस्यका लागि भएको खेल गुमाएको थियो।

तेन्जिङ एसियाली खेलकुदमा करातेबाट नेपाललाई पदक दिलाउने पाँचौँ खेलाडी बन्नुभएको छ। यसअघि सीता राईले सन् १९९४ मा हिरोसिमा एसियाली खेलकुदमा कांस्य जित्नुभएको थियो। सन् १९९८ मा समरबहादुर गोले, सन् २०१४ मा विमला तामाङले कांस्य तथा सन् २०२३ मा एरिका गुरुङले रजतपदक जित्नुभएको थियो।

गत वर्ष श्रीलंकामा भएको १०औँ साफ कराते च्याम्पियनसिपमा पनि तेन्जिङले ८४ केजीमाथिको तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो।