पोखरा, भदौं ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री भट्टराईले विमानस्थल निर्माणको प्रगतिबारे जानकारी लिनुभएको छ ।
सो क्रममा मन्त्री भट्टराईले जनप्रतिनिधिका कुरा र स्थानीयका गुनासाहरुसमेत सुन्नुभयो । बिमानस्थ्ल निरीक्षणका क्रममा सवैको गुनासो सुनेपछि जवाफमा भन्नुभयो, ‘मान्छेबाहेक प्लेनमा बोकाएर पठाउने के छ तपाईंहरुसँग ?’ मन्त्री भट्टराईको यो प्रश्नले भने सवै चकित परे । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनिसकेपछि हवाइजहाजले मान्छे मात्रै नबोकेर व्यापार पनि गर्नुपर्ने मन्त्री भट्टराईको भनाई थियो ।
‘यहाँबाट कार्गो हुन सक्छ । कार्गोका निम्ति मालसामान चाहियो, पोखराका जनप्रतिनिधि साथीहरु हुनुहुन्छ, प्लेनले के बोकेर जान्छ ? मान्छेमात्रै बोकेर जान्छ कि माल सामन पनि बोकेर जान्छ ?’ भट्टराईले भन्नुभयो, ‘माल बोकेर जानुपर्यो, माल के छ तपाईंहरुसँग ? तपाईंले के माल बोकाएर पठाउनुहुन्छ प्लेनमा ? सोच्नुस ।’ उहाँले प्यासेन्जर फ्लाइटमा मात्रै जहाज नाफामा नजाने तथ्य पनि औल्याउनु भयो ।
‘मान्छेमात्रै बोकेर प्लेन फाइदामा हुँदैन । माल बोक्नुपर्यो, के–के उत्पादन गर्नुहुन्छ ? टनका टन माल बोकेर जानुपर्यो,’ भट्टराईको भनाई थियो ।
उहाँले विमानस्थल बनिसकेपछि पोखराका हालका सडक उपयुक्त नहुने, हालकै होटलले व्यापार गर्न नसक्ने तथ्य पनि औल्याउनु भयो । सडकलगायत पूर्वाधार स्तरीय बनाउन तयारी थालिहाल्नु पर्ने उहाँको भनाई थियो । मन्त्री भट्टराईले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले हरेक दिन अनुगमन भइरहने बताउनुभयो । उहाँका अनुसार अध्यागमनले ग्राउन्ड ह्यान्डलिङ, भिसा जाँच, कस्टम लगायतका लागि आवश्यक तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्