जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १७:१४

नेपाल रेडक्रसले भन्यो : मानव तस्करी भएको छैन, बदमासी भएको पाइए कार्वाही हुन्छ (पत्रसहित)


काठमाडौं, जेठ ४ । नेपाल रेडक्रस सोसाइटीले मानवीय कार्यमा समर्पित संस्था भएकोले मानव तस्करी, आर्थिक लाभ, राजनीतिक पहुँच वा अनियमितताजस्ता कुराहरूमा संस्था कहिल्यै सहभागी नभएको बताएको छ ।

जनताटाइम्स डटकममा प्रकाशित समाचारको बिषयमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै सो संस्थाले आज एक पत्रमार्फत यस्तो जनाएको हो । जनताटाइम्स डटकमले बैशाख ३० गते रेडक्रसको नाममा बिदेश गएर बस्नेहरुको जानकारीसहित समाचार प्रकाशित गरेको थियो ।

सो समाचारको बिषयमा रेडक्रसका मानवीय मूल्य तथा सञ्चार बिभाग प्रमुख सकुन जोशीले पत्र लेख्दै भन्नुभएको छ, ‘मिति २०८० बैशाख ३० गते त्यस जनताटाइम्स डिजिटल पत्रिकामा प्रकाशित नेपाल रेडक्रस सोसाइटी सम्बन्धी समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त समाचार सम्बन्धमा नेरेसोको व्यवस्थापकीय नियर्णयबमोजिम संस्थाको तर्पmबाट निम्नअनुसार स्पष्ट पार्न चाहन्छौं ।’

पत्रमा अगाडि भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटी एक राष्ट्रिय मानवीय संस्था मात्र नभई अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गसमेत भएकोले अभियान र मानवीय कार्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय गतिविधिहरूमा सहभागी हुँदैं आएको व्यहोरा जानकारी गराइन्छ । यस क्रममा क्षमता अभिवृद्धि गर्ने अभिप्रायले अन्तर्राष्ट्रिय बैठक, सभा, तालिम तथा कार्यशालाहरूमा संस्थागत निर्णयको आधारमा उपयुक्त कर्मचारी र स्वयंसेवकहरू सहभागी हुँदै आएका छन् । मिति २०८० बैशाख ३० गते त्यस अनलाइन खबरमा प्रकाशित मानव तस्करी, आर्थिक लाभ, राजनीतिक पहुँच वा अनियमितताजस्ता कुराहरू सत्य नरहेको व्यहोरा अनुरोध छ । यस प्रकारको समाचारले जनमानसमा भ्रम पैmलाउने एवं नेपाल रेडक्रस जस्तो मानवीय सेवामा संलग्न संस्थाको छविमासमेत आँच आउने हुँदा यस्ता विषयमा संवेदनशील भइदिनहुन हार्दिक अनुरोध गर्दछौं । संस्थागत निर्णयभन्दा बाहिर वा झुटो विवरणबाट कोही कसैले यस संस्थाको नाममा सिफारिस जारी गरेको प्रमाण पाइएमा संस्थाको नियमानुसार आवश्यक कारवाही हुने गरेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।’

(नोट : समाचारबारे सम्बन्धित संस्थाको भनाई राख्नु पत्रकारिताको धर्म भएकोले हामीले रेडक्रसको भनाई जस्ताको तस्तै राखेका छौं । साथै रेडक्रसको मानवीय कार्यलाई साथ दिनुका साथै बदमासी उजागर गर्न प्रतिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं । (सं)