जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १४:५३

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सांसद शर्माको आग्रह


काठमाडौं, ५ जेठ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भन्नुभयो,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य छ । त्यसलाई दृढतापूर्वक अघि बढाउन म आग्रह गर्दछु ।’ सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले मुलुकको सुशासनका लागि पुँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । साधारण खर्च हुने तर पुँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने सांसद शर्माको भनाइ थियो । उहाँले निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरूमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।