जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १९:१६

१२ वर्षपछि १३४ जना लिएर जापान उड्दै नेपाल वायुसेवा निगम


काठमाडौं, भदौ ११

भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । यस्तै भएको छ, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई । निगमले काठमाडौं–जापान सिधा उडान बिहीबारदेखि गर्ने भएको छ। निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहिवार विहान २.३० बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तराष्ट्रिय विमानस्थलका लागि उडान भर्दैछ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार टिकट काटेका ८० यात्रु र बुकिङ गरेका पाँच जनासहित ८५ जना यात्रु तय भएको छ। टिकट काटेका यात्रुबाहेक राज्यमन्त्री धनबहादुर बुढासहितका सांसद, निगमका कर्मचारी, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायीसहित ४९ जना जापान जाने गरी उडान तालिका तय भएको मिश्रले जानकारी दिनुभयो ।

निगमले १२ वर्षपछि जापान उडान सुरु गरेको हो। अहिले काठमाडौंबाट सिधै जापान जादैँ छ। आजा राती ११.३० बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गराइँदै छ। निगमका अनुसार एक महिना प्रवद्र्धनात्मक भाडादरबाटै उडान गरिने छ। यस्तो भाडा दरमा काठमाडौं जापानको दुईतर्फी भाडादर ७२ हजार ८१४ रुपैयाँ र एकतर्फी भाडादर ३७ हजार रुपैयाँ तोकिएको पनि निगमका सहप्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

निगमले हरेक बिहीबार, शनिबार र मंगलबार जापानको ओसाकामा नियमित उडान गर्ने भएको छ। काठमाडौंबाट साढे दुई बजे उडेको निगमको २७४ सिट क्षमताको वाइडबडी साढे ६ घन्टामा जापान पुग्ने छ । निगमले लामो दूरीको उडान क्षमता भएको वाइडबडी खरिद गरेको एक बर्षपछि उडान गर्दै छ । निगमका अनुसार जापानको स्थानीय समय अनुसार ११.५५ बजे पुग्ने छ। ओसाकाबाट १.५५ बजे उडेको जहाज काठमाडौंमा सोही दिन बेलुकी ६ बजे आइपुग्ने पनि निगमले जानकारी दिएको छ।

निगमका अनुसार बिहानको साढे दुई बजे उडेको जहाज जापान पुगेर यात्रु ओराल्ने र दुई घण्टामै फर्कने भएकोले सोही दिन बेलुका काठमाडौं आइपुग्छ। पहिलो उडानमा जापानबाट काठमाडौं आउन ७० जनाले टिकट काटेको निगमले जानकारी दिएको छ।